धर्मनिरपेक्षता खारेज गर्नुपर्छ : कमल थापा | khabardiary.com
Menu

धर्मनिरपेक्षता खारेज गर्नुपर्छ : कमल थापा

Saturday, March 2nd, 2019, 2:03 pm

सिरहा, फागुन १८ गते ।राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सुरु गरेको मेची–महाकाली ‘राष्ट्रिय स्वभिमान यात्रा-को क्रममा धर्मनिरपेक्षता खारेजी हुनुपर्ने माग गरेका छन्। यात्राको चौथो दिन शनिबार बिहान सिरहाको लहानस्थित सडकमा पत्रकार सम्मेलन गरी राप्रपा अध्यक्ष कमल थापाले सनातन धर्महरु खतरामा रहेकोले धर्मनिरपेक्षता खारेजी गरी हिन्दु राष्ट्र घोषणा हुनुपर्ने माग गरेका छन्।
नेपालमा पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्रको स्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, गरिबी र बेरोजगारी समस्याको समाधान लगायतका विषयमा जनतालाई जागृत तुल्याउन र सरकारलाई ध्यानाकर्षण गराउँदै सशक्त रुपमा जनदवाद सृजना गर्ने उद्देश्यका साथ राष्ट्रिय स्वभिमानको यात्रा थालेको अध्यक्ष थापाले बताए।
राप्रपाले गत फाल्गुन ७ गते प्रजातन्त्र दिवसको दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागहसहित ज्ञापन पत्र बुझाएका छन्।ज्ञापन पत्रमा पनि मुख्य रुपमा धर्मनिरपेक्षताको खारेजी र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्रको स्थापना माग गरेको अध्यक्ष थापाले बताए।
पत्रकार सम्मलेनमा बोल्दै अध्यक्ष थापाले नेपालको भूराजनीतिका अवस्था र धार्मिक, समाजिक, सांस्कृतिक परिवेशलाई दृष्टिगत गर्दै चुनावी राजनीतिभन्दा माथि रहेर राजसंस्थासहितको लोकतन्त्र कायम गर्ने बारे सर्वपक्षीय ‘गोलमेच सम्मेलन’ आयोजना गर्नुपर्ने माग गरे।
‘देशभित्रै देशलाई टुक्राउनु पर्छ भनेर विखण्डणकारी आवाज उठ्न थालेको छ। परम्परागत धर्म, संस्कृतिमाथि संगठित रुपले आक्रमण भइरहेको छ’, अध्यक्ष थापाले भने, ‘सनातन हिन्दु, बौध र किरात धर्मलाई लक्षित गरेर योजनाबद्ध र संगठित रुपले लोभलालच देखाएर, भ्रम सृजना गरेर जर्वजस्ती धर्म परिर्वतन गराउने कार्य तीव्र रुपले भइरहेको छ। यस्तो कार्य निरन्तर रुपमा हुँदै जाने हो भन्ने नेपालको राष्ट्रिय पहिचान संकटमा पर्ने र अन्त्यमा देश धार्मिक द्वन्द्वमा फस्ने सक्ने खतरा देखिएको छ।’
उनका अनुसार ९४ प्रतिशत जनताको भावना र आस्थाको सम्मान गर्दै धर्म निरपेक्षताको खारेजी र हिन्दु राष्ट्रको पूर्णस्थापना हुनुपर्दछ। यात्राको माध्यमबाट देशको वर्तमान अवस्था र राप्रपाले उठाएका मागका बारेमा जनतालाई जागरुक तुल्याउने तथा चैत महिनाबाट थाल्ने जनसंघर्षका लागि महौल तयार गर्ने कार्य गरिरहेको उनले जानकारी गराए।